Breaking News

एसईईको नतिजा सार्वजनिक: ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, २८ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सोमबार साँझ भक्तपुरको सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै बोर्डले यस वर्षको नतिजा सार्वजनिक गरेको हो। सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। बोर्डले नतिजा सार्वजनिक गरे पनि प्राविधिक तयारीका कारण केही समयपछि मात्र आधिकारिक वेबसाइटहरूमा विद्यार्थीको विस्तृत विवरण र मार्कसिट देखिने जनाएको छ।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षाका लागि फारम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी रहेका थिए। लिङ्गका आधारमा हेर्दा यस वर्ष २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जनाले परीक्षामा सहभागिता जनाएका थिए।

विगतका वर्षहरूको तुलनामा यसपटक नतिजा छिटो सार्वजनिक हुनुको मुख्य कारण उत्तरपुस्तिका परीक्षणको कार्यविधिमा गरिएको परिवर्तन हो। यस वर्ष परीक्षा केन्द्रहरूमा नै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाइएकाले नतिजा प्रक्रिया छिटो सकिएको बोर्डले जानकारी दिएको छ। नतिजा सार्वजनिक भएसँगै अब विद्यार्थीहरूले विभिन्न एसएमएस सेवा, आईभीआर र बोर्डको आधिकारिक वेबसाइटमार्फत आफ्नो नतिजा र ग्रेडिङ हेर्न सक्नेछन्।