चितवन मेडिकल कलेज (CMC) ले बागमती प्रदेशको राजधानी हेटौंडामा आफ्नो सेवा विस्तार गर्दै नयाँ सुविधासम्पन्न अस्पताल निर्माण गर्ने भएको छ. हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा पूर्व पश्चिम राजमार्ग संगै १९ कठ्ठा जग्गामा बन्ने यस ‘सीएमसी हेटौंडा’ अस्पताल भवनको हालै शिलान्यास गरिएको छ. करिब २ अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो अस्पतालले १०० शय्या मार्फत बिरामीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ । अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाका अनुसार राजमार्गसँगै जोडिएको यस स्थानमा आकस्मिक कक्ष, सिटी स्क्यान, आइसीयू, एनआईसीयू, पीआईसीयू, मोडुलर ओटी र क्याथ ल्याबसहितका अत्याधुनिक सुपरस्पेसलिष्ट सेवाहरू उपलब्ध हुनेछन् ।
यस नयाँ शाखाको स्थापनाले विशेषगरी मकवानपुरसहित मधेश प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही र सिराहा लगायतका जिल्लाका बिरामीहरूलाई ठूलो राहत पुग्ने विश्वास लिइएको छ। उपचारका लागि चितवन वा काठमाडौं नै धाउनुपर्ने बाध्यतालाई कम गर्दै स्थानीय स्तरमै गुणस्तरीय सेवा दिने उद्देश्यले यो अस्पताल खोल्न लागिएको हो । चितवन मेडिकल कलेजलाई केन्द्रमा राखेर वरपरका क्षेत्रमा ‘स्याटेलाइट अस्पताल’ हरू सञ्चालन गर्ने नीति अनुरूप यो पहिलो शाखाको रूपमा विस्तार गरिएको देवकोटाले बताए. यस परियोजनाले स्वास्थ्य क्षेत्रमा नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै व्यावसायिक विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ । यसअघि नै सीएमसीले हेटौंडामा २०८० माघदेखि ‘सीएमसी चुरे हिल’ अस्पताल सञ्चालन गर्दै आएको छ ।
