काठमाडौं, २३ वैशाख – बादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’ माथिको कानुनी गाँठो फुकेको छ । उच्च अदालत पाटनको पछिल्लो फैसलासँगै यो चलचित्र अब दर्शकमाझ पुग्ने निश्चित भएको छ ।
यसअघि वैशाख १५ गते न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले चलचित्र प्रदर्शनमा अल्पकालीन रोक लगाएको थियो । तर, आज न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले उक्त रोकलाई निरन्तरता दिनु नपर्ने फैसला गरेको छ ।
अदालतले भनेको छ: “रिट निवेदनमा उठाइएका विषयहरू अन्तिम सुनुवाइका क्रममा टुङ्गिने नै छन् । त्यसैले, अहिलेलाई यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु आवश्यक देखिएन ।”
रोशनी नेपालीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई समेत यसबारे स्पष्टीकरण सोधेको थियो । चलचित्र वैशाख १८ गते नै हलमा लाग्ने तयारीमा भए पनि कानुनी प्रक्रियाले गर्दा रोकिएको थियो । यसअघि चलचित्र रोकिँदा कलाकार र फिल्मकर्मीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरेका थिए । बादी समुदायका महिलाहरूको पीडा र संघर्ष समेटिएको भनिएको यो फिल्मका बारेमा अहिले पनि सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा पक्ष-विपक्षमा बहस जारी छ ।
यम थापा निर्देशित तथा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ र अभय बराल जस्ता सशक्त कलाकारहरूको अभिनय रहेको चलचित्र ‘लालीबजार’लाई अदालतले क्लिन चिट दिएसँगै निर्माण टिम अब नयाँ प्रदर्शन मिति घोषणा गर्ने तयारीमा जुटेको छ।
